अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज ३० गते
नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै छ।
नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ। कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ।
प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ। तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।