अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २१ गते।
असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ । यसैले भनिएको छ –
गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।