आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २ गते।

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ । दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । 

कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ ।

यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२:३० देखि २:३० एवं दिउँसो तीनदेखि पाँच बजेसम्म खुला रहनेछ । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *