अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ २ गते।
कञ्चनपुरको कृष्णपुरमा गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।