अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १९ गते।
धनुषाबाट मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका-२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका-४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् ।
१७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो ।
उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा मोटरसाईकल पनि आफुले नै चोरी गरेको स्वीकारेका थिए ।
रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गर्यो । रोहितले क्षिरेश्वरनाथ नगरपालिका-५ मा भाडामा लिएको कोठाबाट चोरीका मोटरसाइकल बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । रोहितले लक गरिएका मोटरसाईकल समेत चोरी गर्ने गरेको पाइएको उनले बताए । उनको कोठाबाट मोटरसाईकल चोरीमा प्रयोग हुने उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ ।
अनसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको उनले जानकारी दिए ।
यस्तै क्षिरेश्रवरनाथ नगरपालिकाबाटै चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाईकलसहित मनोजलाई पक्राउ गरिएको छ भने यो मोटरसाईकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।