अनलाईन न्युजपाटी पोखरा,समाचारदाता,फागुन १४ गते।
म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
ग१ज ६७८८ नंको जिप मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको सडकबाट म्याग्दी नदीमा खसेको थियो ।
दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।
रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोका, मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोका घाइते भएका छन् ।
घाइतेहरुमध्ये जिप चालक नरबहादुरलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइतेहरुको म्यादी सदरमुकाम बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।
दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षकले बताए ।