अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २७ गते।
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताए ।
यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।