अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत २२ गते।
भारतको छत्तीसगढमा शनिबार नक्सलवादीको आक्रमणमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद भएको बताइएको छ ।
‘नक्सलवादी विरूद्धको अपरेशनमा सुरक्षाको संयुक्त टोली गस्ती जाँदा तरेम क्षेत्रमा गोलीबारी भएको हो,’ छत्तिसगढका प्रहरी डिएमले भने।
‘नक्सलवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो। नक्सालवादीहरूको ठूलो क्षति भएको छ,’ मुख्यमन्त्रीले भने।
सात जना घाइतेलाई उपचारको लागि राईपुरमा पठाएको उनले जानकारी दिए। उनीहरू खतरामुक्त भइसकेका छन्।
माओवादीले सुरक्षाकर्मीहरूको दुई दर्जन बढी हतियारहरूसमेत लुटेको जनाएको छ।