अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १६ गते।
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ । सोमबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु-गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारबाही हुनेछ ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय सार्वजनिक भएलगत्तै धेरै व्यक्तिहरु गाउँ फर्किएका छन् ।