अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।
सवारी साधन लुटपाट गरेर फरार गिरोहका दुई जना सर्लाहीको बाँके जंगलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् ।
यही बैशाख २६ गते राती सबा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–४, बाँके जंगलमा तीनवटा सवारीमा लुटपाट भएको थियो ।
हातहतियारसहित चार जनाको संख्यामा रहेको नकाबधारी डाकाहरुको समूहले प्रहरीले लगाउने जस्तो ज्याकेट लगाएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ४ च ८३८७ नम्वरको पिकअप गाडी, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ६ ख १३६ र ना. ६ ख ८२० नम्वरको ट्रक रोकी विभिन्न कम्पनीको तीनवटा सवारीका चालक र सहचालकको साथमा रहेको ३७ हजार नगद, पाँच थान मोवाइल, एक थान सुनको हनुमानी र गाडीभित्र रहेका विभिन्न समानहरु लुटपाट गरेका थिए ।
पक्राउ दुवैजनालाई डाँका तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।