अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ११ गते।
अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ।
गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ। सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो।
यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।
मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा राखिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न भनेका छन्।