अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ ।
विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिए । विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ ।
कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन ।