अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १७ गते।
निषेधाज्ञाका कारण २ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान आजदेखि पुनः खुला गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।
सरकारको आदेशअनुसार नै उडान सुचारू गर्न लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार एक दिनमा ६४ वटासम्म उडान भर्न पाउनेछन् । जसमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअरले दुई दैनिक उडान गर्न पाउनेछन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमणरहित उडानमा जुटेको जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय उडान पनि सुचारू गरिएको छ । हाल पाँच वटा हवाई कम्पनीले उडान अनुमति पाएकाेमा अब थप चार वटा हवाई कम्पनीलाई पनि अनुमति दिइएको छ । जसअनुसार नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछन् ।