अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार १९ गते।
अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
पानीको बहाव बढेसँगै २८ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।
रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ ।