अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन १० गते।
अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले राजधानी काबुल, पन्जशिर र नान्गाहरबाहेकका सबै प्रान्तमा राति १० देखि बिहान ४ बजेसम्म कर्फ्यू लगाइएको बताएको छ।
अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै तालिबानहरूले अफगानिस्तानमा आफ्नो प्रभाव बढाएका छन्। उनीहरूले लगभग सबै ग्रामीण इलाकामा कब्जा जमाएका छन्।
विभिन्न विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने खतरा औंल्याएका छन्। ६ महिनापछि राष्ट्रपति असरफ घानीको सरकार ढल्ने उनीहरूको विश्लेषण छ।
सैबीच तालिबानका प्रवक्ताले अफगानिस्तानमा शान्ति सुरक्षा चाहने हो भने राष्ट्रपति घानीले तत्काल पद छोड्नुपर्ने बताएका छन्।
समाचार संस्था एसोसिएट प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहिनले काबुलमा नयाँ सरकार नबनेसम्म अफगानिस्तानमा शान्ति स्थापना नहुने बताएका हुन्।