अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १५ गते।
अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सबै सेना पूर्ण रूपमा फिर्ता गरेको छ।
अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।
अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे ।
अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।