नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कुवेतको सामना गर्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ९ गते।  

आइसिसी महिला टी २० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कुवेतको सामना गर्दैछ।

दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको थियो। सोमबार भएको पहिलो खेलमा नेपाल हङकङविरुद्ध ६ विकेटले पराजित भयो। यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो।

यसअघि नेपालले अन्तिमपटक सन् २०१९ मा भएको खेलमा कुवेतलाई ३० रनले पराजित गरेको थियो। बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ।

प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्ध खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *