अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २७ गते।
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।
यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।
पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ।
सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन्। आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न सिंहदरबार जाने कार्यक्रम रहेको छ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए। काठमाडौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ।