अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १४ गते।
त्रिदेशीय टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।
पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।
सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।
अविनाश बोहराले छैटौं ओभरमा चार्ल्स अमिनीलाई बोल्ड गर्दा पीएनजीले पावर प्लेमा ५५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
पीएनजीका कुनै पनि जोडीलाई नेपाली बलरले लामो साझेदारी गर्न दिएनन् । कप्तान असद भाला र सेसे बाउले चौथो विकेटका लागि बनाएको ३२ रनको साझेदारी नै पीएनजीको इनिङ्समा ठूलो साझेदारी बन्यो ।
कप्तान भालालाई नवौं ओभरमा कप्तान सन्दीपले करण केसीबाट क्याचआउट गराए । भालाले ७ रन जोडे । सन्दीपले नै सेसे बाउलाई ११औं ओभरको अन्तिम बलमा एलबीडब्लु धरापमा पार्दा पीएनजीले ९१ रनमा पाँचौ विकेट गुमायो । बाउले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३० रन जोडे ।