राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २७ गते।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् ।

आज दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *