अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन ८ गते।
मिथिलाञ्चलमा प्रसिद्ध मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ ।
आज धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु हुनेछ ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्ममा मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ।
सोमबार कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगी विश्राम गर्नेछन्।
फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।
पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम फर्कनेछ।
परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।