अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ २ गते।
मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
प्रदेशसभाले आज दिउँसो १ बजेको लागि बैठक आह्वान गरेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार यस बैठकमा चार वटा विधेयक पेश हुने सम्भावित कार्य सूची रहेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने सरकारको तयारी रहेको छ । यो विधेयक अघिल्लो सरकारमा रामसरोज यादव मन्त्री हुँदा नै तयार पारिएको थियो । तर पेश भए पनि पारित हुन नसकेपछि पुनः प्रदेशसभामा पेश हुन लागेको छ ।
यस्तै, बालबालिका संरक्षण सम्बन्धी विधेयक र प्रदेश प्रशासन सम्बन्धी विधेयक पनि पेश हुने बताइएको छ । यसै महिनामा प्रदेशसभाले बजेट अधिवेशन पनि शुरु गर्नेछन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रम बारे सांसदहरुले धारणा राख्नेछन् ।