अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,मंसिर २६ गते।
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ ।
सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।
दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ। विवाहपञ्चमीको दिन साधुशन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गर्ने गरिन्छ।
ढोल पिपही, सहनाई, बैण्डबाजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ। डोलाको दर्शन र रामसीताको स्वयंवर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ।