आज देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख २१ गते

आज देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि  सम्भावना रहेको विभागको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *