अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३१ गते
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा , स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।