अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर ६ गते।
वैदेशिक रोजगारीका लागि युएई पठाइदिने भन्दै ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । गाउँका युवाहरुसँग पैसा उठाएर भागेका सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् ।विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति एक लाख ७० हजारका दरले उठाएर साह फरार बनेका थिए । ११ लाख ९० हजार रुपैयाँ ठगी गरेर भागेको भन्दै उनी विरुद्ध पीडितहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका थिए ।श्रमले गत असार ३१ गते पक्राउ पूर्जी जारी गरेको थियो।साहबाट ठगीमा पर्नेमा सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल छन् ।श्रम कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पैसा फिर्ताका लागि पहल गरिदिन र ठगी गर्नेमाथि कारबाही गरिन माग गर्दै पीडित युवाले पहिल्यै उजुरी दिएको बताए ।पीडित युवा सञ्जय मण्डलले युएई लैजाने भन्दै आफूहरुलाई काठमाडौं पुर्याएर साह गायव भएको बताए । उनकाअनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पुर्याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुने बताएका थिए ।