अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता, मंसिर ११ गते।
५ वर्षीय बालिकाको चोरी गर्ने प्रयास गरेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुझ्ने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले अनलाईन न्युजपाटीलाई जानकारी दिए । यता हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । बालिकालाई आजै पविमाविका प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।