अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, पौष १ गते।
विवाहका लागि घरमा सबै तयारी पूरा भएको थियो । विवाह घरमा आफन्त आउनेक्रम जारी थियो । तर बिहेको अघिल्लो दिन बेहुला घरबाट बजार जाने भन्दै निस्किए ।जोगवनी पुगेर लागूऔषध सेवन गरेका बेहुला घर पुगेनन् । परिवारले सोधीखोजी गर्दा उनी इलाका प्रहरी कार्यालय रानीमा प्रहरी नियन्त्रणमा रहेको सूचना पाए । जोगवनीबाट घरका लागि लागूऔषध लिएर फर्कँदै गर्दा उनी बाटोबाटै पक्राउ परे ।घटना शनिबारको हो । विवाहको अघिल्लो दिन लागूऔषधसहित बेहुला पक्राउ परेपछि प्रहरी निरगानीमा विवाह भएको छ । धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय धमला थरका युवक विवाहको अघिल्लो दिन पक्राउ परेपछि प्रहरीले निगरानीमा आइतबार रातिको विवाह भएको हो ।दलित समुदायका युवकले धनकुटा महालक्ष्मी नगरपालिकाको चनुवा भन्ने स्थानकी २० वर्षीया रसाइली थरकी युवतीसँग विवाह भएको हो । बेहुला नै पक्राउ परेपछि आइतबार धनकुटा जानुपर्ने जन्ती गाडीमा विराटनगर आएको थियो । विवाह नै रोकिने भएपछि मोरङ प्रहरीले आमाको जमानतमा दुई जना प्रहरीलाई बेहुलाको साथमा पठाएर विवाह गराएको थियो ।आइतबार रातिको विवाह गरेर युवकले सोमबार बिहान बेहुलीलाई घरमा भित्र्याएका थिए । सोमबार घरमा पनि विवाहको कार्यक्रम थियो । तर, बेहुला बेहुलीलाई आफन्तले टीकाटालो लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले युवकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएका हुन् ।शनिबार पक्राउ परेका युवकको विवाहपछि प्रहरीले मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । युवकको साथबाट प्रहरीले सात एम्पुल लुपिजेसिक, सात–सात पिस जाइजोपाम र एभिल फेला पारेको थियो ।धरानको रत्नरोडमा सुन पसलसमेत रहेको धमला परिवारको जेठा छोरा हुन् । उनका कान्छा भाइ, एक जना दिदी र आमा छन् । एक वर्षअघि बुबाको मृत्यु भएका कारण आफूले लागूऔषध सेवन गरेको युवकले बताएका छन् । पहिलेदेखि नै प्रेममा भएका कारण आइतबार विवाह गरेको धमलाले बताएका छन् ।