अनलाईन न्युजपाटी,काभ्रे,समाचारदाता, पौष १७ गते।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए । वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ ।