अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, बैशाख ०८ गते।
क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको बर्दीमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बाह्र घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो। प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए र उक्त कारलाई पछ्याउन थालिएको थियो।
ती आक्रमणकारीले नोभा स्कोटियाका विभिन्न स्थानमा मानिसहरूलाई गोली हानेको हुनाले हताहत हुने सङ्ख्या अझै स्पष्ट हुन बाँकी भएको प्रहरीले बताएको छ। सेवामा खटिँदा आक्रमणमा परेर हाईडी स्टीभन्सनले पनि ज्यान गुमाइन्। उनी त्यहाँको प्रहरी आरसीएमपीमा २३ वर्षदेखि कार्यरत थिइन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त घटनालाई ‘भयानक’ भनेका छन्। नोभा स्कोटियाका प्रान्तीय प्रमुख स्टीभन मक्नीलले आफ्नो प्रान्तको इतिहासमा सबैभन्दा अर्थहीन हिंसात्मक घटना भएको भनेर दुःख व्यक्त गरेका छन्।