अनियन्त्रित भई अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु र चालक गम्भीर घाइते

अनलाईन न्युजपाटी,भरतपुर,समाचारदाता, मंसिर २२ गते।

राप्ती नगरपालिका वडा नं ४ मा भएको अटो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । राप्ती ४ चेपाङ मार्गबाट राप्तीकै चौकीडाँडातर्फ आइरहेको अटो आफैँ अनियन्त्रित भई पल्टिँदा तीन महिला र दुई पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।

तीन जनाको पुरानो मेडिकल कलेजमा र दुई जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइतेलाई तत्काल अस्पताल लगिएकोमा बेलुका ७:३० मा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

ना १ ह ६४०९ नम्बरको अटो साँझको समयमा तीव्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको स्थानीयको भनाइ छ । शनिबार साँझ ६:१५ बजेको समयमा दुर्घटना भएको हो । अटोमा चालकसहित ६ जना यात्रु थिए । २६ वर्षीय चालक मणिराम गिरीको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पीपलटारी स्थायी घर भई खैरहनी ८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, राप्ती ९ की वर्ष २५ की मीना खड्का, ३२ वर्षकी माया तामाङ, खैरहनी ९ बस्ने ४२ वर्षका विश्वमणि भण्डारीको सनाखत भएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *