उदयपुर समाचारदाता अनलाईन न्युजपट्टी ,साउन २३ । महिनौ दिनदेखि बन्द रहेको देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडी का कारण मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो।
बन्द उद्योग तत्काल सुचारुका लागि प्रयास गरे पनि मर्मतसम्भारमा ढिलो हुँदा समय लागेको हो।‘उद्योग सञ्चालनका लागि व्यवस्थापन, कर्मचारीको टिम नै लागि परेका हौं, अन्य ठाउँ थिएनन्। मर्मत सम्भारमै बुटवलमा झन्डै दुई महिना समय खर्चिनु परेकाले उद्योग नियमिततामा समस्या भएको हो।
क्षतिग्रस्त मोटर उद्योगमा जडान गरिएका ठूला मोटरमध्ये यो एक हो। उक्त मर्मतसम्भार गर्न सक्ने जनशक्ति मेसिन उद्योगमा नरहेको हुँदा मर्मतका लागि उच्च प्रविधि भएको बुटवल लैजानु परेको निमित्त महाप्रबन्धक साहले बताए। उनले आगामी दिनमा बिजुलीबाहेक उद्योग सञ्चालनका लागि अन्य समस्या नभएको दाबी गरे।
उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। जेठ २० गते ५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटरमा क्षति पुगेपछि उद्योगको क्लिंकर उत्पादन कार्य बन्द भएको हो।
जेठ २० गते दिउँसो ३:४४ बजे विद्युत् प्राधिकरणबाट पावर फेलर हुँदा उद्योगका सबै मेसिन बन्द भए। लगत्तै बिजुली आएपछि मेसिन सञ्चालन गर्दा हाई भोल्टेजका कारण सस्पेन्सन प्रि–हिटर फ्यानमा रहेको ५ सय किलोवाटको हाईटेन्सन मोटर क्षतिग्रस्त भएपछि रमिललगायत उद्योग सञ्चालन बन्द भएको थियो।
जलेको मोटर उद्योगको पुरानो मोटर हो। विकल्पमा यसअघिका व्यवस्थापन पक्षले खासै चासो नदिँदा समस्या आएको उद्योगका कर्मचारी बताउँछन्। समस्या आउनासाथ तत्काल बनाउन सक्ने अवस्था नरहेपछि विकल्पमा अर्को मोटर राख्नु पर्ने थियो, खरिद प्रक्रिया नपनाइँदा समस्या भएको उनीहरू बताउँछन्।
‘उद्योगले चालु आवमा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यअनुसार जेठ १९ गतेसम्म १ लाख २२ हजार टन उत्पादन पुरयाइसकेको र ‘लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो।’
२०४४ मा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो।
त्यसपछिका वर्षमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६ सय ५० मेट्रिक टनमात्र सिमेन्ट उत्पादन गर्दै आएको छ। जसमा गतवर्ष पुराना पार्टपूर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७ सय ५० देखि आठ सय मेट्रिक टन पुगेको निमित्त महाप्रबन्धक साहले बताए।