जुम्ला सदरमुकाम खलंगामा डिजेल प्लान्टबाट विजुली

अनलाईन न्युजपाटी कर्णाली समाचारदाता, साउन २८ । नौ महिनादेखि बिजुलीविहीन बनेको जुम्ला सदरमुकाम खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ । घुघुत्ति लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्ने क्रममा नौ महिनादेखि बिजुली अवरुद्ध भएपछि मंगलबारदेखि डिजेल प्लान्टबाट बिजुली बालिएको हो । निर्माणाधीन विद्युत्गृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि अँध्यारो जुम्लाको सदरमुकाम खलंगामा डिजेल प्लान्टबाट बिजुली बाल्नुपर्ने बाध्यता आएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । खलंगा अँध्यारोमा भएपछि उज्यालो पार्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बिजुली बालिएको हो ।

भारतीय राजदूतावासको सहयोगमा लघु जलविद्युत् आयोजनामा मेसिन जडान क्रममा बेरिङ भाँचिएपछि मेसिन मर्मत हुन्जेलसम्म डिजेलबाट बिजुली बाल्नुपर्ने बाध्यता आएको अध्यक्ष बुढ्थापाले बताए । सदरमुकाम उज्यालोका लागि जुम्लामा प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरी बिजुली बालिएको अध्यक्ष बुढ्थापाले बताए । दुई सय केभी (१६० किलोवाट)को मेसिनबाट बिजुली उत्पादन गरी सदरमुकाममा आपूर्ति गरिएको छ । सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएको भन्दै रकम विनियोजन गरेका हुन् ।

उपभोक्ताले पुरानै दस्तुर यानेकी महिनाको ८० रुपैयाँमा बिजुली बाल्न पाउने व्यवस्था गरिएको लघु जलविद्युत् उपभोक्ता समितिले जनाएको छ । सरकारी तथा गैरसरकारी कार्यालय र उद्योग सञ्चालन गर्ने व्यक्तिहरूलाई भने विद्युत् महसुलमा केही तलमाथि हुने अवस्था देखिएको अध्यक्ष बुढ्थापाले बताए ।

भारतीय दूतावासले सहयोग गरेपछि लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडानको काम पनि भारतीय कम्पनी पासी शुभकामना जेभी गेटालाई ठेक्का दिइएको थियो । भारतीय दूतावासले दुई करोड ६३ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसमा लघु जलविद्युत् उपभोक्ता समितिले ४५ लाख थपेको थियो । नयाँ मेसिन जडानका लागि ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *