अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता, भदौ १२ गते ।
जनकपुरधाममा नरिवल बेचेर गुजारा चलाउँदै आएका एक बालकलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।जानकी मन्दिरको उत्तरट्टी जानकी चोकमा नरिवल बेच्दै आएका १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेको स्थानीयले बताएका छन् ।
रोशनले आफूसँग प्रहरी जवान यादवले रकम मागेको र नदिएपछि कुटेको बताएका छन् । बालकलाई कुटपिट गरेको भिडियो खिच्ने स्थानीय सुशील कर्णलाई समेत प्रहरीले कुटेको भन्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
जानकी चोकमा सडक अवरुद्व गरी टायर बालेर प्रदर्शन गरेका स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि पनि प्रदर्शन गरेका छन् ।स्थानीयहरुले बालक चौधरी र कर्णलाई कुट्ने प्रहरीलाई कार्वाही हुनुपर्ने उनीहरुको माग छ ।