अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता भदौ १४ गते ।
आफ्नी श्रीमती भगाउन सहयोग गरेको भन्दै एक भारतीय नागरिकले सिरहाबाट अपहरण गरेका बालकको प्रहरीले उद्दार गरेको छ ।भारतको बिहार राज्य अन्तर्गत सितामढीका शोभित मुखियाले आफ्नी श्रीमतीलाई अर्कासँग भाग्न मद्दत गरेको भन्दै सिरहाको बन्दीपुर निवासी बच्चा यादवका ५ बर्षीय छोरालाई गत मंगलबार अपहरण गरेका थिए ।रौतहटको कटहरिया निवासी बच्चा आफ्ना पत्नी र ५ बर्षीय छोरा शिबमसहित सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरका शंकर कार्कीको घरमा डेरा लिएर बस्दै आएका थिए । सिरहामै चटपटे बेचेर पत्नी सुरेखासँगै मुखिया पनि कार्कीकै कोठा भाडामा लिएर बस्दै आएका थिए ।मुखिया बाहिर गएको मौका छोपी उनकी पत्नी सुरेखा गत भदौ २ गते भागेकी थिइन् । पत्नी भागेपछि यादव दम्पत्तिले नै भगाएको आरोप लगाउँदै मुखियाले यादवका छोरा शिबमको कोठाबाटै अपहरण गरेका थिए ।मुखियाले बालक रिहाईका निम्ति आफ्नो श्रीमती फिर्ता माग्दै आएका थिए । ‘मेरो श्रीमती ल्याइदेऊ र आफ्नो छोरा लिएर जाऊ’ भनेर मुखियाले पटक–पटक फोन गरेका थिए । प्रहरीले मुखियाको फोनको लोकेसन पछ्याउँदै सर्लाहीको विष्णुपुर गाउँपालिका ५ बाट बिहीबार राति बालकलाई मुक्त गराएको छ ।शुक्रबार जिल्ला प्रहरी कार्यालय, सिरहामा पत्रकार सम्मेलन गरी प्रहरीले मुक्त गरेका बालकलाई अभिभावकको जिम्मा लगाएको छ ।