अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता असोज ७ गते।
धनुषाका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले हेलिकप्टर निर्माण गरेका छन् । मिथिलानगरपालिकाको ढल्केवर स्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत्त १७ वर्षका हरिनारायण पण्डितले हेलिकप्टर निर्माण गरेका हुन् ।साईकल, मोटरसाईकल, ट्याक्टर, बस र कारमा प्रयोग हुने इन्जिनको पार्टपूर्जा जोरजाम एवं प्रयोग गरेर हरिनारयाणले २ महिनाकै अवधिमा हेलिक्पटर निर्माण गरेका छन् । पेट्रोलबाट चल्ने इन्जिन जोडिएको छ । थोरै समयमै हेलिक्पटर निर्माण गरेपछि स्थानीयहरु उनको कामले चकित भएका छन् । बनाएको हेलिकप्टर हरिनारायण उडाउने तयारीमा छ ।
हरिनारायण मिथिला नगरपालिका वडा नं. ५ बस्ने श्रीनारायण पण्डितका छोरा हुन् । सामान्य घरपरिवारका भएकाले हरिनारायण अध्ययन गर्दै र ढल्केवरको साईकल स्टोर पसलमा काम गरे वापत १२ हजारको महिना दिने गरेको हरिनारायणले अनलाईन न्युजपाटीलाई बताए ।
साईकल पसलमै काम गर्दा गर्दै यसअघि हरिनारायणले एकवर्ष अघि रेन्जर साईकलमा पेट्रोल इन्जिन प्रयोग गरी मोटरसाईकल बनाएर सडकमा गुडाका थिए । ‘मेले २०७५ असोज १ गते विश्वकर्मा पूजाको दिन आफुले बनाएको मोटरसाईकल पूजा गरेर चलाएको थिएँ । केहि महिनासम्म चढे । पटक पटक प्रहरीले रोक लगायो ।’ हरिनारणले भने ‘ प्रहरीले रोक लगाएपछि । मेरो मनमा ईख भयो । मैले हेलिकप्टर बनाएर उडाएर देखाउँछु भन्ने प्रणन लिएँ । त्यो मेटरसाईकल घरमै थन्काए । र हेलिकप्टर बनाउन सुरु गरे ’
हेलिकप्टर निर्माणमा २ लाख रुपैयाँ खर्च भएको हरिनायाणले बताए । ‘विभिन्न पार्टपूर्जा जोरजाम गरी अहिलेसम्म २ लाखभन्दा बढी खर्च भएको छ । केहि आमाबुबाले सहयोग गर्नुभएको छ । केहि साथीभाइसंग पैँचो लिएको छु र केहि आफैले साईकल पसलमा गरेको काम बापत पाएको तलब खर्च गरेर बनाएको छु ।’ हरिनारायणले अनलाईन न्युजपाटीलाई भने ।
छोराको हेलिकप्टर निर्माणमा बुबा श्रीनारायण र आमा निर्मला देवीले सघाएका छन् । ‘छोराले हेलिकप्टर बनाउने ईच्छा जाहेर गरे । मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ ।’ बुबा श्रीनारायणले अनलाईन न्युजपाटीलाई भने ‘छोराको इच्छा पूरा गर्न सकेजति समान किन्न आर्थिक सहयोग गरेको छु’
हरिनारायणले बनाएको हेलिकप्टर उडाउने
तयारी गरेका छन् । ‘१०।१२ दिन अघि उडाउन जाँचेपछि धर्तीभन्दा केहि माथि उडेको थियो
। त्यसपछि ईन्जिनमा केहि खरबी आएको थियो । अहिले पुरै ठीक गरेको छु, अब मज्जाले
उड्न सक्छ’ हरिनारायणले भने ।
हेलिकप्टरलाई औरही खेलाको खुल्ला चौरमा २ जना सवार भएर १० देखि २० फिट्सम्म तत्काल
उडाउन सक्ने हरिको भनाई छ ।
हरिनारायणले आईतवार नै बनाएको हेलिकप्टर उडाउने तयारी गरेका थिए । तर स्थानीय प्रशासनले अनुमति नदिएपछि र धनुषाका प्रमुख जिल्ला अधिकारी उपस्थित नभएपछि उडान स्थगित गरेको हरिनारायणले बताए ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले हरिनारायणले हेलिकप्टर बनाएको विषयमा आफुले जानकारी पाएको बताए । बनाएको हेलिकप्टर उडाउन नागरिक उड्ययन कार्यालयबाट अनुमति दिए मात्र आफुहरुले अनुमति दिनसक्ने प्रजिअ कणेलको भनाई छ । ‘हरिनारायणले हेलिक्पटर बनाएर उडाउने तयारी गरेको जानकारी आएको छ । तर उडायो केहि दुर्घटना भयो भने त्यसको जिम्मेबारी कसले लिने । त्यसको लागि नागरिक उड्ययन कार्यलयबाट अनुमति लिन भनेको छु’ उनले भने ।