अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता असोज १३ गते।
नक्कली हस्ताक्षर गरी बैंकबाट करिब २ करोड रुपियाँ झिकेर फरार भएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का कर्मचारी पक्राउ परेका छन्। परिषद्को प्रदेश २ अन्तर्गत सञ्चालित बिपि मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट लक्ष्मीनिया–४, सपही धनुषाको कार्यालयबाट चेक चोरी नक्कली हस्ताक्षरबाट रकम झिकेको आरोपमा प्रविनकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ठाकुर करारमा सहायक ल्याब प्रशिक्षक पदमा कार्यरत थिए। विभिन्न मितिमा कार्यालयको चेक चोरेर सिटिइभिटी प्रदेश कार्यालयका लेखापाल ब्रह्मदेव ठाकुर र इन्स्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको सही किर्ते गरी छुट्टाछुट्टै व्यक्तिको नाममा चेक काटेर विभिन्न बैंकबाट ठाकुरले पैसा झिकेको प्रहरीले जनाएको छ। भारतबाट लुकिछिपी आइरहेको अवस्थामा प्रहरीको विशेष टोलीले धनुषाको सिमावर्ती मुखियापट्टी मुसहर्निया गाउँपालिका–३, तुलसियाहीमा घेरा हाली उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
चेक चोरेर इस्न्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको सही नक्कली गरी छुट्टाछुट्टै व्यक्तिहरुको नाममा चेक काटी विभिन्न बैंकबाट विभिन्न मितिमा ठाकुरले ६२ लाख ५६ हजार ९ सय रकम निकालेका छन्। यस्तै, सिटिइभीटी प्रदेश कार्यालय जनकपुरका लेखापाल ब्रहमदेव ठाकुरको सही किर्ते गरी १ करोड १५ लाख ४५ हजार रकम झिकेपछि ठाकुर फरार भएका थिए।
सिटिइभिटीको प्रदेश कार्यालयका पदाधिकारीले करिब दुई महिनाअघि जाहेरी दिएका थिए। प्रहरीले ठाकुरविरुद्घ चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दा दर्ता गरेको छ। ठाकुरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।