अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता साउन २२ ।
नेकपाका सांसद गोविन्द न्यौपाने र काङ्ग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्याउनु जरुरी रहेको बताए ।प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश नं २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
बैठकमा टेबल भएको झण्डै अढाइ महिनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो । यो विधेयक गत जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको थियो भने आज बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ ।
यो विधेयक पारित भएसँगै अब प्रदेश नं २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।
सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए ।
समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।
मंगलबारको प्रदेशसभा बैठकमा उहाँले साउनमा मात्रै पाँच पटक बैठक बसेको र आज बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए।
यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि पनि सैद्धान्तिक छलफल भएको छ ।