अनलाईन न्युजपाटी, जनकपुरधाम समाचारदाता,साउन २६ ।
२०७५ साल कार्तिक ११ गते आयोजित समुदाय–प्रहरी साझेदारी सम्बन्धि कार्यक्रममा एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले महिला हिंसा न्यूनिकरणमा यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए तर सार्वजनिक भएको केहि समयपछि नै उक्त एप प्रयोगविहीन भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप निकै तामझामका साथ सार्वजनिक गरेका थिए । तर एप विना कुनै प्रयोग गुगलको प्ले स्टोरबाट हराएको छ । सार्वजनिक भएको केही दिनमै एप प्ले स्टोरबाट हराएको थियो । अहिले प्ले स्टोरमा एउटा ‘हेलो सीएम’ देखिए पनि यो एप अन्य प्रदेशको हो ।
एप्लिकेशनलाई लन्च गर्ने समयमा प्रदेश सरकारले यसले अपराधलाई न्यूनिकरण गर्न ठुलो भूमिका खेल्ने दाबी गरेका थिए । एप प्रयोग वहनि भएपछि दाबी घोषणामा मात्रै सिमित भएको देखिन्छ ।महिला हिंसामा परेको बेला एप डाउनलोड भएको मोबाइल तीनपटक हल्लाए त्यो जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रुपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दाबी गरेका थिए।शहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनको लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन्। तर हेल्लो सिएम एपका लागि भने त्यस्तो व्यवस्था छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला हिंसा सम्बन्धि जानकारी फोनमार्फत आउने गरेको भएतापनि हेलो सीएम बारे कुनै जानकारी नरहेको बताए।
यता प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवको अनुसार ‘हेलो सिएम’ एप पूर्ण रुपले निर्माण नभएकोले अहिले प्रयोगमा आएको छैन्। उनले भने, ‘हेलो सीएम एप चाँडै प्रदेश २ को ८ वटै जिल्लमा लन्च गर्छौ।’
यता एप निर्माता आदित्य राजका अनुसार करिब ६ लाखको आफ्नै लागतमा निर्माण गरेको हेल्लो सीएम एप सरकारले लागू नै गर्न सकेन। आफूले एप निर्माण गरेतापनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा अहिले प्रयोग विहिन भएको निर्माता राजले बताए।
उनले प्रदेश सरकारलाई पटक पटक यस एपको सञ्चालनको लागि भन्दा समेत यसप्रति प्रदेश सरकार गम्भिर नरहेको बताए।