महिलाको हत्यामा संलग्न दुई जना पक्राउ, मोबाइलको आइएमइ नम्बरले सघायो

अनलाईन न्युजपाटी महोत्तरी, २७ साउन ।

महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो ।

आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले आज बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *