अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता, साउन ३०।
अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल, मधेश तथा देश विदेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्यरूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।