व्यावसायिक बन्दै जुवातास, ३८ जुवाडे कारबाहीको दायरामा

अनलाईन न्युजपाटी ,चितवन  ,समाचारदाता, भदौ ४ ।

 चितवनमा व्यावसायिक जुवातासको विकास हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालू आव २०७६/७७ को एक महिनामा नै ३८ जुवाडेलाई कारबाहीको दायरामा ल्याएको छ भने एक जना फरार छन् । उनीहरुबाट तीन लाख ८५ हजार ५६५ रूपैयाँ बरामद गरिएको छ । जुवाडेहरुलाई जिल्लाका विभिन्न पाँच स्थानबाट जुवा खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । सबैजना अहिले तारेखमा छुटेका छन् ।प्रहरीले साउन १४ गते भरतपुर १५, मंगलपुरबाट ११ जनालाई जुवाखालबाटै पक्राउ गरेको थियो । एक जना अझै फरार छन् । उनीहरुबाट दुई लाख ९३ हजार ३५० रूपैयाँ नगदसहित कौडा, कौडा खेल्ने बोर्ड र गलैँचा बरामद भएको छ । पक्राउ परेकाहरुमध्ये रविकुमार गुप्ता र शैलेन्द्र श्रेष्ठले २०/२० हजार रूपैयाँ र पदम लामा, कुमार गुरूङ, मन्दिप धरेल, कृष्णप्रसाद तिमल्सिना, लक्ष्मण श्रेष्ठ, मतिलाल गौतम, शालिकराम रेग्मी, राजु थापा १०/१० हजार रूपैयाँ धरौटी राखेर तारेखमा छुटेको जिल्ला प्रशासन कार्यालय चितवनका मुद्दा शाखाका नासु बाबुराम पराजुलीले जानकारी दिए ।त्यस्तै भरतपुर १८, गुञ्जनगरमा चार जनाबाट १४ हजार ९५० रूपैयाँ, रत्ननगर ३ मा आठ जनाबाट ४० हजार रूपैयाँ, कालिका २ मा १० जनाबाट २० हजार ४४० रूपैयाँ र कालिका ८ मा पाँच जनाबाट १६ हजार ८२५ रूपैयाँ बरामद भएको पराजुलीले बताए । जुवातास मुद्दाको फैसला केही दिनमा प्रमुख जिल्ला अधिकारीले गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *