अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, भदौ ८।
जिल्ला कारागार कैलालीलाई कारागारभित्र रहेका कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि कारागार परिसरमा अस्थायी टेण्ट निर्माण गरेर उनीहरुको व्यवस्थापन गरिएको छ ।वर्षौँअघि बनेको कारागार भवनको एक सय ५० जना कैदीबन्दी राख्ने क्षमता हो । तर हाल कारागारभित्र चार सय ९७ जना कैदीबन्दी छन् । सुत्ने ठाउँ नभएपछि त्रिपालले अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको जेलर महेन्द्रबहादुर खड्काले बताए ।
कारागारको भवन परिसरमा त्रिपाल राखेर १० वटा अस्थायी टहरा निर्माण गरिएका उनले जानकारी दिए । कैदीबन्दी थपिदै गएपछि कारागार प्रशासनलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।
‘एक सय ५० जना अट्ने क्षमताको कारागारमा झण्डै पाँच सय कैदीबन्दी छन् ।’ जेलर खड्काले भने, ‘क्षमताभन्दा निकै बढी बढी संख्यामा भएकाले उनीहरुलाई कसरी राख्ने भन्ने समस्या छ ।’
एक सय जनाभन्दा बढी कैदीबन्दीलाई त्रिपाल लगाएर बनाइएका अस्थायी टहरामा राखिएको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र चार सय ५० जना पुरुष र ४१ महिला कैदीबन्दी तथा छ जना आश्रित नाबालक छन् ।
यीमध्ये एक सय ९५ जना पुरपक्षका लागि तथा अदालतले तोकेको धरौटी तिर्न नसकेर कारागार चलान गरिएका थुनुवा रहेका जेलर खड्काले अनलाईन न्युजपाटी जानकारी दिए ।
ठाउँको अभावमा खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दीहरुले बताएका छन् । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको एक जना कैदीले बताए ।
गर्मीमा अधिक गर्मी, जाडोमा अति जाडो र वर्षातमा भिज्नुपर्ने भएकाले कारागार सुधार गृह नभइ यातना गृह बनेको कैदीबन्दीहरु बताउँछन् ।
कैदीबन्दी बढी भएपछि सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ । महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको जेलर खड्काले बताए ।
एउटै हलभित्र धेरै कैदीबन्दी कोचिएर बस्नु पर्दा रोगहरुको संक्रमणको खतरा रहने कारागारका कैदीबन्दीको उपचार गर्दै आएका सिनियर अहेब भक्त बिष्टले जनाए ।
‘छाला, श्वासप्रश्वासजस्ता सर्ने खालका रोगहरु संक्रमण बढ्ने खतरा छ ।’ उनले भने, ‘कैदीबन्दीहरु कोचिएर बस्ने गरेका छन् । ठाउँ नहुँदा उनीहरु बिरामी भएर गोप्य अंग जाँच गर्नुपर्दा समस्या हुन्छ ।’
करिब सात दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ । कैदीबन्दीको संख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ संरचना थपिन सकेका छैनन् । ठाउँको अभावमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या छ । कारागार प्रशासन रहेको भवन पनि वर्षामा चुहिने गरेको कर्मचारीहरु बताउँछन् । क्षमता भन्दा कैदीबन्दीको संख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको भनेर कारागार विभागसहित सम्बन्धित पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको जेलर खड्काले बताए ।
खड्काका अनुसार केन्द्रीय कारागार विभागले कारागारभित्र भौतिक संरचना निर्माणको इस्टिमेट माग गरेपछि गत वर्ष भदौमा स्टीमेट पठाइएको थियो । ‘स्टीमेट पठायौँ तर अहिलेसम्म त्यसको सुनुवाइ भएन । संरचना थप गर्नेबारे जानकारी आएको छैन ।’ खड्काले भने ।
बन्दीगृह, एक वटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्यांकीसहित महिला पुरुष शौचालय, कार्यालय भवनसहितका संरचनामा १२ करोड, ८२ लाख, ८४ हजार रुपैयाँ बराबरको लागत स्टीमेट पठाइएको कारागार प्रशासनले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीबन्दीको संख्या दिनप्रतिदिन बढ्दै गएकाले कारागारको भौतिक संरचनाले धान्न सक्ने अवस्था नरहेको बताए ।
‘अपराध बढेका बढ्यै छन् । नयाँ भौतिक संरचना नबनाइ हुँदैन ।’ उनले भने, ‘यसबारे केन्द्रमा पनि कुरा राखेका छौं ।’ कारागार विभागको प्रमुख आउँदा पनि जिल्ला कारागारमा भौतिक संरचना थप गर्नेबारे छलफल गरिएको उनले बताए । कैलाली जिल्ला अदालतमा सुदूरपश्चिममा सबैभन्दा बढी मुद्दाको चाप हुने गर्छ । अदालतमा मुद्दाको चाप बढेसँगै कारागारमा कैदीबन्दीको संख्या पनि बढ्न थालेको हो ।