अनलाईन न्युजपाटी,चितवन ,समाचारदाता , भदौ ८।
चितवनमा डेङ्गु रोगका कारण एक जनाको मृत्यु भएको छ । नारायणगढ निवासी एक पुरूषको केही दिनअघि उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ‘सबै विवरण सार्वजनिक गर्न मिल्दैन’, कार्यालयका एक कर्मचारीले भने, ‘हामीलाई पनि एक–दुई दिनअघि जानकारी आएको हो ।भरतपुरका सबै अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीहरु छन् । शैया अभावका कारण स्त्री तथा प्रसूति विभागमा समेत डेङ्गु प्रभावित पुरूषहरुलाई राखेर उपचार गराउन परेको अस्पताल सञ्चालकहरुले बताएका छन् ।भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले हाल देखिएको डेङ्गु संक्रमण सामान्य भाइरल ज्वरोको प्रकार भएको बताए । ‘भाइरसबाट हुने ज्वरो भएकाले एन्टीबायोटिकले काम गर्दैन’, उनले भने, ‘एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।’अस्पतालमा हाल ज्वरोका बिरामी उच्च संख्यामा रहेको र ज्वरोमध्ये पनि आधाजसो बिरामीमा डेङ्गु भेटिएको उनले बताए । तीन चरणमा डेङ्गु संक्रमण रहने भन्दै उनले पहिलो चरणमै जाँच गरी औषधि खाँदासमेत निको हुन १० दिनसम्म लाग्ने बताए ।हाल अन्य देशमा देखिएको डेङ्गु ज्यानै लिनेसम्मको हेमोरेविक र सक सिन्ड्रोम रहे पनि चितवनको हकमा सामान्य डेङ्गु रहेकाले यसका बिरामीहरु निको हुने दर उच्च रहेको डा. अधिकारीले बताए । पहिलो दिनमै उच्च ज्वरो आउने र डेङ्गु भए÷नभएको पत्ता लाग्ने उनले बताए ।यस रोगमा प्लेटलेट्सको संख्या कम हुन सक्ने भन्दै यसमा सचेत हुनु जरूरी रहेको डा. अधिकारीको भनाइ छ । घरमा पानी जम्ने गमला, फूलदानी नै यस रोगको घर हो भन्दै उनले विशेषतः साँझको समयमा सुरक्षित रहन आग्रह गरे ।