अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता, भदौ १२ गते ।
उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो ।जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन ।बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद भएको पुष्टि गरे । उनले अनलाईन न्युजपाटीसँग भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा हिजो साँझ बरामद गरेका हौं ।’प्रहरी स्रोतका अनुसार, च्याङ्बा लामाको घरको एउटा कोठाबाट रक्तचन्दन बरामद भएको थियो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ ।त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि मालिक को हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवैसहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।