अनलाईन न्युजपाटी, काठमाडौँ,समाचारदाता भदौ २४ गते।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशीहरुलाई अपराधका लागि नेपाली भूमि रंगशाला बनाउन नदिने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधीका विरुद्धमा नेपाल प्रहरीले कठोरतापुर्वक कदम चाल्ने बताए।
नेपाल आएका विदेशी अपराधीहरु विमानस्थलमा नै पक्राउ परेका छन् खनालले भने, कतिपय अपराध गरेर भाग्ने क्रममा पनि पक्राउ परेका छन् ।
विदेशीहरुले गर्ने अपराध निस्तेज गर्न नेपाल प्रहरी सक्षम रहेको उनले बताए। ‘कानुनको दायरामा आउन र सुध्रन्छु भनेर नेपाल छिरे हुन्छ, ‘खनालले विदेशी अपराधीहरुप्रति लक्षित गर्दै भने।
प्रहरीको आँकडा अनुसार ५ वर्षमा ३५ सय विदेशी नागरिक पक्राउ परेका छन् । १ वर्षमा ६ सय विदेशीलाई डिपोर्ट गरिएको छ। अहिले पनि नेपाली जेलमा ४१ देशका १२ सय नागरिक छन् ।