अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असोज १ गते ।
रातो आलुको मूल्य एक सातामै ४३ रुपैयाँबाट बढेर ५८ रुपैयाँ किलो पुगेको छ । एक साताअघि प्रतिकिलो ५९ रुपैयाँमा थोक बिक्री भइको सुकेको प्याजको मूल्य ८९ रुपैयाँ पुगेको छ ।कालिमाटी तरकारी तथा फलफूल बजारमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिद-बिक्री हुन्छ । पछिल्लो
एक सातामा यिनीहरुमध्ये अधिकांशको भाउ बढेको छ । दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको छ ।गोलभेडाको मूल्य भने यो साता घट्दो क्रममा देखिएको छ । नेपाली ठूलो गोलभेडा प्रतिकिलो ७ रुपैयाँ, नेपाली सानो ६ रुपैयाँ र भारतीय गोलभेडाको मूल्य भने स्थीर छ ।कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले भने तरकारीको मूल्य नबढेको दावी गरेको छ । संघका अध्यक्ष भरत खतिवडाले तरकारीको मूल्य बढेको कुरा अफबाह भएको बताए । व्यवसायीलाई गलत देखाउन मूल्य बढेको हल्ला गरिएको उनको दावी छ । ‘पानी परेका कारण सडक अबरुद्ध छ । बजारमा तरकारी अभाव भयो होला तर मूल्य बढेको छैन,’ खतिवडाले भने ।यता कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने वर्षाकै कारण तरकारीको मूल्य बढेको जनाएको छ । प्याजको मूल्य भारतमै बढेका कारण नेपालमा असर परेको र अन्य तरकारी आवश्यक मात्रामा बजारमा नआएको एवं आएका पनि कृषकले नै बढी मूल्य लिएको पाइएको समितिका उप निर्देशक तथा प्रवक्ता बिनय श्रेष्ठले बताए ।