अनलाईन न्युजपाटी, जनकपुरधाम ,असोज २ गते ।
मिथिलाञ्चल क्षेत्रको कठोर ब्रतको रुपमा रहेको जितिया पर्वको उपलक्ष्यमा राष्ट्रिय जनता पार्टी महिला संघले बुधवार जनकपुरधाममा जितिया शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा व्यापक सहभागिताका बीच भएको कार्यक्रममा महिलाहरुले जितिया पर्वको महत्व माथि प्रकाश पर्दै यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताए ।खास गरेर निकै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गर्ने चलन रहेको छ । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जितिया पर्व निकै कठोर पर्वको रुपमा रहेको बताउँदै यस पर्वमा मधेशका महिलाहरुलाई सरकारले सार्वजनिक विदा दिनुपर्ने धारणा राखे ।राजपाका प्रदेश नं २ का प्रमुख सचेतक परमेश्वर साहले जितिया पर्वको महत्व परापूर्वकालदेखि नै भएपनि यसको प्रचार प्रसार कमै मात्रामा हुने गरेको बताउँदै अहिले आएर प्रचार प्रसार बढेकोमा खुशी व्यक्त गर्दै पर्व गर्ने सवै महिलाहरुलाई शुभकामना दिए । सो अवसरमा महिलाहरुले विभिन्न प्रकारको गीत संगित, नृत्य प्रस्तुत गर्नुका साथै विद्यालयका छात्र छात्राहरुले विभिन्न प्रकारको गिती नाटक मञ्चन गरेका थिए ।कार्यक्रममा नेपालको चर्चित रियालिटी शो ‘द भ्वाईस अफ नेपालमा’ सहभागी भएर मधेशी महिलाको नामलाई गौरवान्वित बनाएकी सिरहा गोलबजारकी शान्ति सदालाई समेत आमन्त्रित गरिएको थियो । उनले पनि आफ्नो प्रस्तुती दिएकी थिईन । कार्यक्रममा महिला नेत्रृहरु विन्दु ठाकुर, पुनम झा मैथिली, अर्चना कर्ण, विभा ठाकुर, विभा पाण्डे, राजपाका नेता ज्ञानेन्द्र झा ज्ञानु, संजय सिंह, प्रमोद यादव सहितकाले शुभकामना दिएका थिए । दुई दिनको कठोर ब्रत जितिया अन्तर्गत ब्रतिहरुले विहिवार नहाय खाय विधि गर्नेछन् । शुक्रवार विहान अबेर राति नै ओठगन अर्थात दही च्युरा खाएर ब्रतको शुभारम्भ गर्ने र शुक्रवार दिनभरि र रातभरि तथा शनिवार दिउँसो तीन बजे तीर पर्वको समापन गर्ने कार्यक्रम रहेको छ ।यस पर्वमा अधिकांश महिलाहरुले जल पनि सेवना गर्ने गरेका छैनन् । विहिवार नहाय खायका दिन ब्रतिले कोदोको रोटी र माछा खानेछन् । कतिपयले शाकाहारी समेत खाने गरेका छन् । अरु ब्रतमा नहाय खायका दिन शुद्ध खाने कुरा खाएपनि यस पर्वमा महिलाहरुले कोदाको रोटी तथा माछा खाने गरेका छन् ।