अनलाईन न्युजपाटी,चितवन,समाचारदाता असोज ८ गते।
मंगलबार बिहान राति साढे १ बजे चितवनबाट छुटेको ना ६ ख १३१ नम्बरको ट्रकलाई प्रहरीले हेटौंडामा चेकजाँच गरिरहेको थियो। मकवानपुर जिल्ला हेटौंडा नगरपालिका-१५ स्थित खण्डमा प्रहरी टोलीले ट्रक रोक्यो र चेकजाँच प्रक्रिया थाल्यो। मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार चेकजाँचका लागि प्रहरी जवान सञ्जयकुमार दास ट्रकको क्याबिनमा छिरेका थिए। क्याबिनमा दास छिरेपछि चालक अफ्रिका चौधरीले स्टार्टमै रहेको ट्रक हुइँक्याए।चेकिङमा रहेको ट्रक हुइँकिएपछि प्रहरीको अर्को भ्यान पछि लाग्यो। हेटौंडाबाट पथलैया हुइँकिएको ट्रकलाई प्रहरीले तीन किलोमिटर पर पुगेपछि प्रहरीले रोक्यो।घेरा हालेर प्रहरीले रोकेपछि चालक झ्यालबाट निस्केर भाग्न खोजे,’ प्रहरी उपरीक्षक सिंहले अनलाईन न्युजपाटीसँग भने, ‘चालक भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड फायर गर्यो।’
प्रहरीको दुई राउन्ड फायरमध्ये एक गोली चौधरीको बायाँ खुट्टामा लाग्यो। चालक ढले।उनीसँगै रहेका अर्का सहयोगी भने त्यसबेला भागेको सिंहले बताए। सिंहका अनुसार सो ट्रक चितवनमा सामान अनलोड गरेर रित्तै फर्किएको थियो। त्यही रित्तो ट्रक चेकजाँचका क्रममा चालकले हुइँकाएका थिए।‘अपहरण शैलीमा जवानलाई लिएर ट्रक हुइँकाएपछि प्रहरी टोली रेकी गर्दै पछि लाग्यो र तीन किलोमिटर पर जंगलमा पुगेर रोकी घेरा हाल्यो,’ सिंहले भने, ‘नियन्त्रण लिने क्रममा जवान दासलाई कुटपिट गरी भाग्न खोज्दा प्रहरीले फायर खोलेको हो।’सिंहका अनुसार गोली लागेका ट्रक चालक वीरगन्ज महानगरपालिका-२९ का ३४ वर्षीय चौधरीको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ।प्रहरीले ट्रकबाट १४ वटा बोरामा राखिएको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ। गाँजा तस्करी गरेर ल्याउँदै गरेकाले ट्रक चालक भाग्न खोजेको एसपी सिंहले बताए।बरामद भएको उक्त गाँजा धादिङमा लोड गरिएको आशंका छ। उपचाररत् चालक चौधरीमाथि अनुसन्धान भइरहेको सिंहले बताए।फरार भएका चालक चौधरीका सहयोगीको नाम प्रहरीले गोप्य राखेको छ।घटनामा प्रहरी जवान दास र प्रहरी हवल्दार सुरेन्द्र साह सामान्य घाइते भएका थिए।