अनलाईन न्युजपाटी,चितवन ,समाचारदाता असोज ११ गते।
आक्रमणकारीको कुटपिटबाट घाइते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि भन्दै हवाईजहाजमार्फत काठमाडौं ल्याइएको हो । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको चितवनमा शनिबार तय भएको कार्यक्रम बिथोलिएको छ। भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेकाहुन्।
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो। उनको टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार शाहीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ।कार्यक्रम स्थलमा राजावादीलाई कार्यक्रम गर्न नदिने भन्दै युवाहरूले हो-हल्ला गरे पनि उनीहरू को हुन् भन्ने खुलेको छैन। केही समयअगाडि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज ढिलो उडेको भन्दै शाही मन्त्रीविरूद्ध खनिएका थिए।